Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजित नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले विशेष महाधिवेशनले कांग्रेसलाई विभाजन नभई थप एकताबद्ध र गतिशील बनाउने बताएका हुन्।
‘विशेष महाधिवेशन हुन्छ तर पार्टी विभाजन हुँदैन। यदि त्यस्तो हुन लागेमा हलबाट सबैभन्दा पहिले विश्वप्रकाश शर्मा नै निस्किनेछ। त्यसबेला सबै सँगै निस्कियौँला, पार्टीको विभाजनलाई रोकौंला,‘ उनले भने।
पार्टीको विधानको रक्षा गर्नु नै एकताको आधार भएको उनको भनाई छ। आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनले बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिने उनको धारणा छ।
पार्टी विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था रहेको उल्लेख गर्दै उनले यो प्रक्रिया पूर्णतः संवैधानिक भएको बताए। भदौ २२ गतेपछिको बदलिएको राष्ट्रिय राजनीतिक परिस्थिति र आन्तरिक चुनौतीलाई चिर्न विशेष महाधिवेशन अनिवार्य भएको उनको तर्क छ।
फागुन २१ गते हुने निर्वाचनलाई विशेष महाधिवेशनले असर नगर्ने बरु थप मद्दत पुर्याउने शर्माले बताए। उनले भने, ‘मुर्झाएर बसेको कांग्रेस भन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम दिनेछ, बढी परिणाम ल्याउनेछ। त्यसैले विशेष महाधिवेशनमा जुटौं, सबै एक भएर यसलाई भव्यतापूर्वक सफल बनाऔँ। नवीन संकल्प गरौं, नवीन जागरण पैदा गरौं।‘
विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने र नगर्ने सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गर्दै शर्माले भने, ‘तपाईं हामी सबै जान्दछौं, भदौ २२ अगाडिको नेपाल यो होइन। समय, परिस्थिति, हाम्रो दायित्व, हाम्रो चुनौती सबै बदलिएको छ त्यसपछि। त्यसैले बदलिएको समयलाई सामना गर्ने गरी, बदलिएर जानका लागि, केही नयाँ संकल्प लिनका लागि, केही नवीन दृष्टि बनाउनका लागि, केही नवीन जागरण सिर्जना गर्नका लागि विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन।‘
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij