Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन्।
‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए।
‘जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ,’ उनले भने। उनले भारतको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गरे।
भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री खरेलको भनाइ थियो । यसभन्दा अगाडि जति पनि जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरू हुनुहुन्थ्यो उनीहरूको पनि योगदान ठूलो छ।‘पछिल्लो आठ वर्षमा सबै कायापलट भएको होइन, तर यस अवधिमा जे भएका छन्, त्यो निकै उल्लेखनीय छ‘, उनले भने।
मन्त्री खरेलले भरतपुर बन्यो तर देश किन बनेन भन्ने जवाफ पनि भरतपुरबाटै खोज्न सकिने बताए। ‘भरतपुरमा मेयरका रुपमा रेनु दाहालले आठ वर्ष लगातार काम गर्न पाउनुभयो, यदि उहाँले नौ महिनामात्र पाएको भए भरतपुरमा यो तहको विकास हुने थिएन‘, उनले भने।
त्यस अवसरमा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा आशङ्का नगर्न पनि आग्रह गरे। साथै आफू निर्वाचनमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij