Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय अस्तित्व बचाउनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई अघि सार्नु पर्नेमा जोड दिएकी छन् ।
मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘हामी राजनीतिक शक्तिहरूका कुरा गर्छौँ, राजनीतिक शक्तिहरू बीचमा हुने प्रतिस्पर्धाका कुरा गर्छौँ । जनताको माग, जनताको आवश्यकताका कुराहरू गर्छौँ । यी सबै कुराहरू गरिरहँदा अर्को छुटाउनै नहुने पाटो भनेको विश्व भू–राजनीति हो,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिलाई विश्व भू–राजनीतिले कुनै न कुनै ढङ्गबाट असर पुर्याइरहेको नै हुन्छ । भू–राजनीतिले विभिन्न कालखण्डमा निरन्तर रूपमा विभिन्न तरङ्गहरू पैदा गरिरहेको हुन्छ । ती तरङ्गहरूलाई बुझ्न आवश्यक छ र ती तरङ्गहरूलाई उपयोग गरेर राष्ट्रको अस्तित्व जोगाउनका लागि हामीले निरन्तर प्रयास गर्नुपर्छ, होइन भने राष्ट्रको अस्तित्व सङ्कटमा पर्न जान्छ ।’
पार्टीको ११औं महाधिवेशन आफ्ना लागि नयाँ अनुभवको थलो भएको उनको भनाइ थियो । त्यस्तै उनले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने कुरा एमालेले व्यवहारमै देखाएको पनि बताइन् ।
‘युवाहरू राजनीतिमा आउनुपर्छ, युवाहरूलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र धेरैले बोली त बनाए तर एमालेले त्यो सन्देश व्यवहारमै उतार्यो,’ उनले भनिन्, ‘एमालेले एघारौँ महाधिवेशनमा छुट्टै क्लस्टर बनाएर युवाहरूलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनका सफल भयो । प्रतिनिधि चयनदेखि नेतृत्व छनोटसम्ममा ‘अन्डर ४०’ क्लस्टरबाट युवाहरूको सहभागिता सुनिश्चित गर्यो। म आफैँ पनि त्यहिँबाट विजयी भएँ ।’
डंगोलले राजनीतिमा उमेरले मात्रै धेरै कुरा निर्धारण नगर्ने बताइन् । ‘राजनीति भनेको उमेर समूह मात्र होइन । राजनीतिमा आउनका लागि ज्ञान चाहिन्छ, त्यहीअनुसारको विज्ञता चाहिन्छ, त्यति मात्र नभएर सीप चाहिन्छ र महत्वपूर्ण कुरा ऊर्जा चाहिन्छ,’ उनले भनिन्, ‘उमेरले युवा भएर हुँदैन । ज्ञान, सीप, ऊर्जा र नेतृत्वदायी क्षमता छ भने मात्रै निरन्तर रूपमा देशलाई योगदान दिन सकिन्छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij