Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३९औं वार्षिक साधारण सभा आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सफलतापूर्वक सम्पन्न भएको छ। बैंकका अध्यक्ष भेणुगोपाल रंगनाथनको सभापतित्वमा शेयरधनीहरूको उपस्थितिमा उक्त कार्यक्रम अगाडि बढेको थियो । साधारण सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को उत्कृष्ट वित्तीय प्रदर्शनलाई प्रमुखताका साथ प्रस्तुत गरियो। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ४.७ अर्ब रुपैयाँ सञ्चालन नाफा र ३ अर्ब रुपैयाँ खुद नाफा हासिल गरेको प्रतिवेदनमा उल्लेख छ। बैंकको इक्विटीमा प्रतिफल १४.३% र प्रति शेयर आम्दानी ३०.० रुपैयाँ रहेको छ, जसले बैंकको लचिलोपन र बलियो वित्तीय स्वास्थ्यलाई दर्शाउँछ ।
बैंकले आफ्ना लगानीकर्ताहरूलाई १९.०% नगद लाभांश (चुक्ता पूँजीमा) वितरण गर्ने घोषणा गरेको छ, जुन सञ्चालक समितिले सिफारिस गरेको हो र यसले लगानीकर्ताहरूलाई मूल्य प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई जोड दिन्छ ।बैंकका अध्यक्ष रंगनाथनले आफ्नो सम्बोधनका क्रममा लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई उनीहरूको अटल समर्थनका लागि हार्दिक आभार व्यक्त गरे ।
उनले भने, “नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड आफ्नो अद्वितीय विविधता मार्फत वाणिज्य र समृद्धि बढाउने आफ्नो उद्देश्य पूरा गर्न प्रतिबद्ध छ।” उनले थपे, “सञ्चालक समितिले आषाढ मसान्त २०८२ सम्मको चुक्ता पूँजीमा १९.०% नगद लाभांश सिफारिस गरेको छ, जसले पछिल्ला तीन वर्षदेखि स्थिर नगद लाभांश भुक्तानीलाई प्रतिविम्बित गर्दछ।”
स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा ७०.२१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने बाँकी २९.७९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड नेपालमा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न र उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्न निरन्तर समर्पित रहनेछ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij