
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल एपीएफ अस्पतालका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा नेपाल एपीएफ अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रूपक महर्जन र सो आश्रमका तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले स्वास्थ्य उपचारसम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एपीएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आइतबार आयोजित एक समारोहबीच सो सम्झौता भएको हो ।
२०औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा ९ माघमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावकविहीनलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘मानवसेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्दै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्य सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसको आशीर्वाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गरे । उनले यस प्रकारको पवित्र कार्यले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई सेवामा लाग्न उर्जा प्राप्त हुने र सो आश्रममा आश्रितलाई दिइने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने बताए ।
कार्यक्रममा मानवसेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितको उपचारका लागि विगतमा धैरै अस्पताल भौंतारिनुपर्ने बाध्यता रहेको र सोचे जस्तो उपचारसमेत पाउन नसकेको अप्ठ्यारा दिनको स्मरण गर्दै यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालप्रति खुसी र कृतज्ञता व्यक्त गरे ।
यस सम्झौतासँगै सो आश्रमका आश्रितहरूले नेपाल एपीएफ अस्पतालमा उपलब्ध इमरजेन्सी, बहिरंग, जनरल तथा विशेषज्ञ ओपीडी, अन्तरंग सेवाअन्तर्गतका वार्ड, आईसीयू, एचसीयू एचडीयू, माइनर तथा मेजर अप्रेसन सेवा र प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ ।
यसैगरी रेडियोलोजीअन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयू र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधि, मुटुरोग, मिर्गौला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीहरूका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ । यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधि आश्रमका बिरामीहरूलाई निःशुल्क प्रदान गरिनेसमेत सम्झौतामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij