
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान)थियो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।
‘सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको सन्देश दिएको छ,’ ट्रान्सपरेन्सीले भनेको छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो । रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख छ ।
डेनमार्क र न्युजील्याण्ड कम भ्रष्टाचार हुने मुलुक
यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।
सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थानमा, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औं स्थानमा, पाकिस्तान ३१ अंक प्राप्त गरी १२४ औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थानमा र अफगानिस्तान १९ अंक प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंक प्राप्त गरी ७८ औं स्थानमा छ । सन् १९९५ देखि प्रत्येक वर्ष यस्तो सूचकांक सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनले नेपाललाई सन् २००४ देखि समावेश गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij