
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । गुल्मीको पवित्र धार्मिकस्थल रिडीमा आजदेखि माघी मेला सुरू भएको छ । उद्योग वाणिज्य संघ रिडी शाखा,रुरु फ्रेन्डस क्लब र फ्रेन्डस क्लबको संयुक्त आयोजनामा माघी मेला सुरू भएको हो ।
तीन जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा बिहानैदेखि नुहाउने र पुजाआराधना गर्ने श्रद्धालुको घुइँचो लागेको रुरक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष नवराज विकले जानकारी दिए । पहिले जेठी,माइली र कान्छी सङ्क्रान्तिका नाममा विभाजन गरेर तीन दिनसम्म रिडीमा माघी मेला हुने गर्दथ्यो । तर,पछिल्लो समय श्रद्धालुको चाप र स्थानीयको मागका आधारमा बढाएर मेला छ दिन गराइएको छ ।
चार धाममध्येकै एक धाम रुरुक्षेत्र भएकाले पनि माघे सङ्क्रान्तीमा स्नान गर्न र पूजाआजाका लागि श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । कालिगण्डकी नदी तीन जिल्लाको संगम स्थलमा पर्ने गर्दछ । गण्डकीमा स्नान र मेलाको अवलोकन गर्नका लागि गुल्मी,पाल्पा र स्याङ्जालगायत जिल्लाबाट श्रद्धालु आउने गरेको वडाध्यक्ष विकले बताए ।
चारधाममध्येको एक प्रमुख धाम मानिने रुरु क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तिका दिन स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसले आफूले अन्जानमा गरेका सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त हुने किंबदन्ती छ ।
विशेषगरी माघे सङ्क्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण,पितृ ऋण तथा रिषि ऋणसमेत मुक्ति पाइने धार्मिक विश्वासका कारण हजारौं मानिस यस अवसरमा रिडि क्षेत्रधाममा आउने गर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij