
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँ जसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् ।
हात्तीले बढी जसो केराबारी नष्ट गरेको पाइएको छ । हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्याएको छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए ।
सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए । उनका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पुर्याएको छ ।
हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताएका छन् । हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका लागि सो उपकरण प्रयोग गर्नुपर्ने उनले बताए । पर्सा राष्ट्रिय निकुञ्ज अमलेशगञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परार्मश गरेर सो ‘इनालाइजर’ प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए ।
‘इनालाइजर’ खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि आफूले पत्राचार गरेको प्रमुख साहले बताए । हात्तीले क्षति पुर्याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij