
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण गरी सञ्चालनमा रहेका ८२ टहरा पसल हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना हटाइएको जानकारी दिए ।
“सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएका हौं”, उनले भने । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमती करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिकाको रहेको उनको भनाइ थियो ।
नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij