
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ ।विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप ४ वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए ।
चालू शैक्षिक सत्रमा १ र ११ कक्षामा नयाँ पाठ्यक्रम लागू भइसकेको छ । केन्द्रका अनुसार २०७८ सालको शैक्षिक सत्रमा कक्षा २, ३, ६ र १२ तथा २०७९ सालमा ४, ७ र ९ कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनेछ ।
२०८० सालमा ५, ८ र १० कक्षामा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने महानिर्देशक दाहालले जानकारी दिए । अदालतले नयाँ पाठ्यक्रम लागू गर्न कानूनी रूपमा बाटो खोलिदिएकाले समस्या नहुने र यसको कार्यान्वयनमा सरकार अगाडि बढ्ने उनले जानकारी दिए ।
११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि झण्डै ३ महिना अन्योल देखिएको थियो । सर्वोच्च अदालतले पुस २८ गते नयाँ पाठ्यक्रम लागू गर्न सरकारलाई बाटो खोलिदिएको छ ।
केन्द्रका महानिर्देशक दाहालले एकैचोटि सबै कक्षामा पाठ्यक्रम कार्यान्वयन गर्न समस्या भएका कारण चरणबद्ध रूपमा यसलाई अगाडि बढाइएको जानकारी दिए । एकै पटक लागू गर्दा पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशन लगायतका काम गर्न समस्या हुने भएकाले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको हो । व्यवस्थापकीय हिसाबले कार्यान्वयन गर्न पनि सहज हुने महानिर्देशक दाहालले बताए ।
यसैबीच केन्द्रले नयाँ पाठ्यक्रम लागू भएको ११ कक्षाका शिक्षकलाई तालिम दिने भएको छ । ३ वटा अनिवार्य विषय अध्यापन गर्ने शिक्षकलाई तालिम दिने गरी कार्ययोजना बनाइएको समाचार गोरखापत्रमा प्रकाशित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij