
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ । बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन् ।
अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका छन् । उनले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन् ।
सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गरिन् । उनले भने,' गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिनेछ ।'
एउटै मुद्दाका दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने ? भन्दै प्रश्न समेत गरिन् । सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गरिन् ।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं अनुसन्धानको दायरामा रहेकोमा उनीमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान छ ।
प्रधानमन्त्री प्रचण्डले सहकारीमा गृहमन्त्री लामिछानेको कुनै संलग्न नरहेको भन्दै उनको बचाउ गरेको उनको भनाइ छ ।
सांसद न्यौपानेले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग प्रशस्त प्रमाण रहेको दावी गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij