
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरु कृष्णप्रसाद पाध्या, हीरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भवदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । यात्रवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij