
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ । यो जानकारी त्यहाँका स्थानीय अधिकारीहरूले शनिबार दिएका हुन् ।
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया सहरमा भएको आक्रमणमा अन्य चारजना घाइते भएको जनाएको छ । सन् २०२२ पछि पहिलोपटक रुस र युक्रेनले शान्तिका लागि प्रत्यक्ष वार्ता गरेको केही घण्टापछि यो कथित आक्रमण भएको हो ।
‘बिलोपिलिया नजिकै शत्रुको ड्रोनले यात्रु बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्,’ सुमी क्षेत्रीय सैन्य प्रशासनले टेलिग्राममा पोस्ट गर्दै भनेको छ ।
यद्यपि, रुसी सेनाले यस आक्रमणका बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
शुक्रबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्ता भएको थियो । यद्यपि, युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा निष्कर्षमा पुग्न भने असफल भएको थियो ।
तर, आगामी दिनहरूमा दुवै पक्षले एक–अर्कालाई एक हजार युद्धबन्दी फिर्ता गर्ने सहमति गरेका थिए ।
फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ठूलो आक्रमण सुरु गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij