Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अस्ट्रेलियाको स्वतन्त्र तलब निर्धारण निकायले देशका करिब २८ लाख न्यून आय भएका कामदारहरूको न्यूनतम तलब आगामी जुलाईदेखि ४ दशमलव ७५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
केही अर्थशास्त्रीहरूले यस निर्णयले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्। फेयर वर्क कमिसनका अनुसार जुलाई १ देखि न्यूनतम साप्ताहिक तलब १ हजार ४ डलर ९० अस्ट्रेलियन डलर (झन्डै ७१९ अमेरिकी डलर) पुग्नेछ ।
यसअनुसार प्रतिघण्टा न्यूनतम ज्याला २६ डलर ४४ अस्ट्रेलियन डलर हुनेछ । यो वृद्धि गत वर्षको भन्दा बढी हो २०२५ मा न्यूनतम तलब ३ दशमलव ५ प्रतिशतले बढेको थियो ।
तर ट्रेड युनियनहरूले माग गरेको समीक्षा अवधिमा ५ प्रतिशतदेखि ६ प्रतिशतका बीचमा तलब बढाउन माग गरेका थिए ।अस्ट्रेलियाली केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अष्ट्रेलिया’ (आरबीए)को कडा मौद्रिक नीतिले आगामी वर्ष आर्थिक वृद्धि सुस्त बनाउने आयोगले भनेको छ।
साथै अमेरिका–इरान तथा पश्च्मि एशियाको द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध हुँदा मुद्रास्फीति पुनः बढेको पनि उल्लेख गरेको छ । हालको अनिश्चित परिस्थितिमा वास्तविक तलब वृद्धि दिन सम्भव नभएको बताए पनि कम्तीमा कर्मचारीहरूको क्रयशक्ति सन २०२५ जुलाईको स्तरभन्दा तल नझरोस् भन्ने उद्देश्यले तलब बढाइएको आयोगले जनाएको छ ।
न्यूनतम तलब वृद्धिले व्यवसायहरूको लागत थप बढाउने र त्यसले मुद्रास्फीतिलाई माथि धकेल्न सक्ने लगानी बैंकिङ कम्पनी सिटीग्रुपका विश्लेषकहरूले बताएका छन् । अगस्टमा आरबीएले ब्याजदर चौथोपटक बढाएर ४ दशमलव ६ प्रतिशत पुर्याउन सक्ने उनीहरूको अनुमान छ । वित्तीय सेवा प्रदायक कम्पनी वेष्टप्याकले पनि तलब वृद्धि अपेक्षाभन्दा ठुलो रहेको भन्दै मुद्रास्फीति अपेक्षाकृत लामो समयसम्म उच्च रहन सक्ने चेतावनी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij