ललितपुर । फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको बुधबारको आदेशसँगै शोभराज आज जेलमुक्त भएका हुन् । दुई अमेरिकी पर्यटकको हत्याको अभियोगमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि शोभराजलाई सुन्धारा कारागारको गोलघरभित्र राखिएको थियो ।
सर्वोच्चले कारागार नियमावली २०२० को नियम २९ (२ क) अनुसार जेलमुक्त गर्न आदेश गरेको हो । उक्त नियमअनुसार ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधार र गम्भीर प्रकारको रोग लागेमा ७५ प्रतिशत कैद काटिसकेका कैदीको कैद सजाय मिनाहा गर्न सकिने व्यवस्था छ ।
सोही कानुनी व्यवस्थाका आधारमा सर्वोच्चले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स फर्काउन आदेश गरेको थियो । सर्वाेच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो । शोभराज २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका थिए ।
उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइने छ । उनलाई फेरि नेपाल आउन नपाउने गरी उनको देश पठाउने तयारी भइरहेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको छ ।