
Jun 20 2025 | २०८२, असार ६ गते
डोटी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता र ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा जम्मा १३ जना घाइते जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन्।
बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटना आसपासका क्षेत्रमा सबै खोजी गर्दा पनि बालक भेटिएको छैन । दुर्घटना भएको बस सेती नदी किनारैमा पुगेको हुँदा बच्चा नदीमा बेपत्ता भएको अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij