
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सरकारले आजदेखि सातामा २ दिन बिदा दिन गरेको निर्णय कार्यान्वयन गरेको छ । सरकारको निर्णय अनुसार अब आइतबार र शनिबार सार्वजनिक बिदा हुनेछ। प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा ५ दिन मात्रै खुला हुनेछन्।
इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो । देशव्यापी रूपमा सातामा २ दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।
गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठ देखि लागू हुने गरी सातामा २ दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम २६ गते राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक बिदासम्बन्धी व्यवस्थाले औपचारिकता पाएको थियो । यही आधारमा गत २८ गते शिक्षा मन्त्रालयले पनि मन्त्रीस्तरबाट शिक्षण संस्थामा समेत सातामा २ दिन बिदा दिने निर्णय गरेको थियो ।
बिदा थप गरेसँगै सरकारले प्रशासनमा ‘वर्किङ आवर’ (कार्यघन्टा) बढाएको छ भने शिक्षण संस्थामा शुक्रबारको आधा दिन छुट्टी समय बढाउनुका साथै वार्षिक बिदा कट्टा गरेर पठनपाठन अवधि समायोजन गरेको छ ।
अब प्रशासनमा कार्यालय दिनको समय एक घन्टा थप गरिएको छ । शुक्रबारको ३ बजेपछिको बिदालाई पूरा समय कार्यालय समय कायम गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि अपराह्न ५ः३० सम्म कार्यालय समय तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij