
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । आचारसंहिताविपरीत विज्ञप्ति जारी गरेको भन्दै निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
उनिहरुलाई २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ ।
‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघ/संगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन ? पत्र प्राप्त भएको समयले २४ घन्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेर स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।
स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्ति शनिबार सार्वजनिक गर्दै उनीहरूले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij