
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि रहेका आठ शय्या विस्तार गरी बिहीबारदेखि २० शय्याको नयाँ डायलाइसिस शय्या सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गर्दै उनले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने बताए ।
पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए ।
प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलका अनुसार बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको छ ।
अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको २३ वर्ष भइसकेको छ ।
सन् १९९९ मा तत्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शय्याबाट सुरु गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जीवकुमार शर्माले सोही अस्पातलबाट आफैँले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गरेका थिए ।
सन् २००२ देखि प्रतिष्ठानमा शुरु भएको यो विधि पाँच वर्षसम्म अरु कुनै अस्पतालमा हुन सकेको थिएन । सन् २००४ मा डा शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलाइसिस मेसिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलाइसिस युनिटको स्थापना गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij