
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् ।
महानिरीक्षक खनालले चार वर्षे कार्यकाल पूरा गरेर सोमबारबाट अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको छ ।
महानिरीक्षक खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ ।
सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुने जनाइएको छ । २१ दिने कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा देखिएको छ । हालका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन् । अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका थिए । सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकैपटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।
हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन् । वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन् । सशस्त्र प्रहरी बलमा दुईजना मात्रै एआईजी रहने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij