
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै मंगलबार अभिनेता पल साहले दिएको रिट बुधबार पेसी चढेको छ । साह नाबालिगलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका छन् । अभिनेता पल साले दिएको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको छ।
मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम साहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए। उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो।
‘तत्काल प्राप्त प्रमाणबाट साहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध साहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो। थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने भन्दै साहले उच्च अदालतमा निवेदन दिएका थिए ।
साहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए। ढुङ्गानाले आफ्नो थुनछेक आदेशमै ‘१५ वर्षीय बालिकालाई ललाईफकाई विवाह गर्छु भनी जबरजस्ती करणी गरेको देखिन आएकाले’ भन्ने वाक्यांशको प्रयोग गर्दै पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij