
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकार र स्थानीय सरकारबीच दोहोरी चल्दै आइरहेको छ । विशेष गरी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेको जस कसले लिने भन्ने विषयमा टसल हुँदा काठमाडौं उपत्यकाका स्थानीय सरकार र संघीय सरकारबीच दोहोरी चल्ने गरेको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बसेको बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा पनि स्थानीय तहका प्रमुख र झाँक्रीबीच दोहोरी चलेको छ । बैठकमा झाँक्रीले बञ्चरेडाँडा ल्यान्डफिल साइट पुग्ने वैकल्पिक सडक बनाइनु पर्ने र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पटक–पटक समस्या सृजना भएकाले वैकल्पिक सडक निर्माण गरेर स्थायी समाधान खोजिने बताएपछि काठमाडौं महानगरपालिकाको प्रमुख विद्या सुन्दर शाक्याले संघीय सरकारले गम्भीर हुनु पर्ने बताए ।
बञ्चरेडाँडा र सिसडोल क्षेत्रका स्थानीयवासीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा एक अर्कालाई दोष थोपर्नेभन्दा पनि सबै निकाय समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्। हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल क्षेत्र पुग्ने सडकलाई तत्काल स्तरोन्नती गरिने बताउँदै मन्त्री झाँक्रीले बञ्चरेडाँडा पुग्ने वैकल्पिक सडकको काम पनि तत्काल सुरु गरिने उनले बताइन्।
मन्त्रालयमा मन्त्री झाँक्रीको अध्यक्षतामा उनले उपत्यकाको फोहोर व्यवस्थापनको समस्यामा सधैं अल्झिरहन नहुने बताइन्। उनले भनिन्, ‘सबै एउटै समस्यामा अल्झिएर हुँदैन्, अब दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडकको काम अघि बढाउनुपर्छ।’
काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले फोहोर व्यवस्थापन सिंगो उपत्यकाको समस्या रहेको बताउँदै यस विषयमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए। सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा ल्यान्डफिल सञ्चालनमा प्राविधिक सहयोग गर्नुपर्ने माग गर्दै उनले उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकार पनि गम्भीर बन्नुपर्नेमा जोड दिए। त्यस्तै धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानीयसँग समन्वय गरेर सरकार अघि बढ्नुपर्ने बताउँदै आयोजना प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षा सडक लगायतमा सहुलीयत हुनुपर्ने माग गरे।
ल्यान्डफिल साइट दीर्घकालीन, योजना अल्पकालीन
बञ्चरेडाडाँ ल्यान्डफिल साइट काठमडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि दीर्घकालीन भएपनि यो योजनाको विषयमा सरकार भने अल्पकालीन रहेको देखिएको छ । सहरी विकास मन्त्रालयका अनुसार ल्यान्डफिल साइटको विषयमा स्थानीय, प्रेदश तथा संघीय कुनै पनि सरकारले दीर्घकालीन योजना बनाएको छैन ।
बैंठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बञ्चरेडाँडा ल्यान्डफिल साइट र सिसडोलको सीमांकन गर्नुपर्ने बताए। स्थानीयले पटक–पटक विवाद झिक्ने समस्या देखिएको भन्दै उनले आयोजनाको क्षेत्रलाई स्पष्ट सीमांकन गरेर अघि बढ्नुपर्ने बताए।
संघीय मामिला मन्त्रालयका सचिव सुरेश अधिकारीले बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई छिटो सञ्चालनमा ल्याएर उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिए। सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई सहयोग गर्न मन्त्रालयले प्राविधिक टोली बनाउने बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij