
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ। स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले केन्द्रमा कमान्डर तोकेको छ । निर्वाचनमा आवश्यक पर्ने मुख्य समितिहरुको संयोजकको जिम्मेवारी कांग्रेसले बाँडफाड गरिसकेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गर्दै चुनावी तयारीलाई प्रभावकारी ढंगले परिचालन गर्नेको लागि विभिन्न समिति बनाएर जिम्मेवारी बाँडफाड गरेको छ ।
बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ। जसमा पार्टीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । यस्तै, प्रवक्ता डा.प्रकाश शरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ।
यसअघि कांग्रेसले महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ। स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीयको सहभागितामा घोषणा पत्र लेख्नुपर्ने माग कांग्रेसमा रहिरहेको बेला महामन्त्री थापालाई स्थानीय तहको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij