
Jun 21 2025 | २०८२, असार ७ गते
विराटनगर । सुनसरीको इटहरीमा बम विस्फोट हुँदा हिमाल सुरक्षा परिषद्का २ जना घाइते भएका छन् । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फोट हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका–२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार थापाको डेरामा बम विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो। विस्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ। थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए। विस्फोट भएको बम सुतली हुनसक्ने प्रहरीले बताएको छ ।
संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो। सोही परिषद्ले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो।
गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक–५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij