
May 03 2025 | २०८२, वैशाख २० गते
श्रवण शक्तिमा आउने समस्या र यसबाट बच्ने उपाए
बढ्दो सहरीकण, औधोगिक क्षेत्रको विस्तार, यातायात तथा विभिन्न माध्ययमबाट वर्तमान समयमा अत्याधिक मात्रामा ध्वनि प्रदुषण भएको पाइन्छ । जसको प्रत्यक्ष असर हाम्रो श्रवण शक्तिमा पर्न जान्छ ।
हामीले सामान्य जस्तो मानिएको ध्वनिले पनि हाम्रो श्रवण शक्तिमा दीर्घकालीन असर पार्न सक्दछ । औधोगिक तथा सवारी क्षेत्रमा काम गर्नेहरु त प्रभावित छन् नै । यतिबेला रमाइलो गर्ने बहानामा मनोरञ्जनात्मक क्रियाकलापमा समेत चर्को ध्वनी प्रदुषण गर्ने, ठुलो आवाजमा गाउँने, गीत बजाउने तथा ‘इयरफोन’ लगाउने गर्नाले पनि युवा पुस्तामा श्रवण समस्या अत्याधिक मात्रामा भएको पाइन्छ । यदि हामीले समयमै ठुलो आवाजबाट हाम्रो श्रवण शक्तिलाई बचाउन सके भविश्यमा हुने संभावित श्रवण समस्याबाट बच्न सकिन्छ ।
हाल विश्वमा एक अर्ब १० करोडभन्दा बढी युवा धेरै हल्ला हुने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने हुँदा श्रवण अशक्तताको उच्च जोखिममा छन् । विश्व स्वास्थ्य संगठनको (२०२१ अप्रिलको अपडेट) अनुमानअनुसार संसारभर करिब ४३.३ करोड मानिसमा श्रवण अशक्तता छ । जसमध्ये एक अर्ब १० करोड युवा (१२ देखि ३५ वर्ष उमेरसम्मका) बढी हल्ला हुने मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने हुँदा श्रवण अशक्तताको उच्च जोखिममा रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘सुनाइ कमजोरी’ भन्नाले २५ डेसिबल वा सोभन्दा बढी र ‘अशक्त रूपमा सुनाइ कमजोरी’ भन्नाले ३५ डेसिबलभन्दा बढीको सुनाइ कमजोरीलाई जनाउँछ । यो समस्या भएका ८० प्रतिशतभन्दा बढी व्यक्ति कम र न्यून आय आर्जन भएका देशमा छन् । ‘सुस्त श्रवण’ भन्नाले २० डेसिबलभन्दा धेरै सुनाइ कमजोरी भएको व्यक्तिलाई जनाउँछ, जसले कुराकानी गर्न साङ्केतिक भाषा पनि प्रयोग गर्छन् ।
सुनाइको कमजोरी(बहिरोपनका) प्रमुख कारण उच्च ध्वनि, कानमा हुने विभिन्न किसिमको संक्रमण, वंशाणुगत, सुनाइलाई असर पुर्याउने औषधि, मेनेन्जाइटिस, दादुरा, हाँडे, टाइफाइडजस्ता संक्रामक रोग आदि हुन् ।
कति डेसिबलसम्मको आवाजले श्रवण शक्तिमा क्षति पुर्याउँछ?
१) ०–७० डेसिबलसम्मको आवाजले श्रवण शक्तिमा क्षति पुर्याउँदैन । सास लिएको, कानेखुसी गरेको, रुखमा पातहरू हल्लेको, पानी परेको, सामान्य कुराकानी गरेको, ट्याक्सी चलेको जस्ता आवाज यसअन्तर्गत पर्छन् ।
२) ७१–९० डेसिबलसम्मको आवाजलगातार आठ घन्टासम्म सुनियो भने श्रवण शक्तिमा क्षति हुन सक्ने सम्भावना हुन्छ । ट्रक, मिक्सचर, कपाल सुकाउने मेसिन आदिका आवाज यसअन्तर्गत पर्छन् ।
३) १०० डेसिबलसम्मको आवाज लगातार १५ मिनेटसम्म सुन्दा श्रवण शक्तिमा क्षति हुने सम्भावना हुन्छ । हेलिकोप्टर, हवाईजहाज आदिका आवाज यसअन्तर्गत पर्छन् ।
४) ११०–११५ डेसिबलसम्मको आवाज एक मिनेट मात्र सुनेमा पनि श्रवण शक्तिमा क्षति हुने सम्भावना धेरै नै हुन्छ । बाजा, मोटर चलेको, ट्र्याक्टरका आवाज यसअन्तर्गत पर्छन् ।
५) १२०–१४० डेसिबलसम्मको आवाजले श्रवण शक्तिमा तुरुन्तै पूर्ण रूपमा क्षति हुन सक्ने सम्भावना हुन्छ । कान दुख्ने सम्भावना पनि हुन्छ । पटाका, पुलिस साइरन, जेट इन्जिन आदिका आवाज यसअन्तर्गत पर्छन् ।
श्रवण शक्तिमा हुनसक्ने क्षतिबाट बच्न के गनुपर्दछ ?
१) वयस्कले ८० डेसिबलको ध्वनिमा साताको ४० घन्टाभन्दा बढी समय नबिताउने ।
२) बालबालिकाले ७५ डेसिबलको ध्वनिमा साताको ४० घन्टाभन्दा बढी समय नबिताउने ।
३) टिभी, रेडियो, मोबाइल आदि प्रयोग गर्दा आवाज चर्को नगर्ने ।
४) चर्को आवाज आउने औजार, विद्युतीय उपकरण वा फ्याक्ट्रीमा काम गर्दा ‘इयर प्लग’ वा ‘इयरमफ’ प्रयोग गर्ने ।
५) समय–समयमा कान र सुनाइको जाँच गराउन नाक, कान, घाँटी रोग विशेषज्ञ, अडियोलोजिस्ट र कान सहायक सहयोगीसँग परामर्श लिने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij