
Jun 24 2025 | २०८२, असार १० गते
तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो ।
सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको हो ।
बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले दिएको जानकारीअनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबैजना वडा नम्बर ६ कै छन् ।
जिप आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतिर गुडिरहेको थियो । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij