
Jun 24 2025 | २०८२, असार १० गते
म्याग्दी । पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडकमा मोटर गुड्न थालेपछि स्थानीयवासीको दिनचर्या नै परिवर्तन भएको छ । विकास र सुविधाको पहिलो आधार नै सडक भएको स्थानीयवासीले महसुस गर्न थालेका छन् । केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको छ ।
उत्तरी म्याग्दी पर्यटकीय क्षेत्र पनि भएकोले केही ठाउँमा पदमार्ग विस्तार गरिए पनि अधिकांश ठाउँमा सडकको पहुँच पुगेको छ ।
दुई पुस्तासम्म खच्चडमार्फत ढुवानी गर्दै आउनुभएका मुदीका खमबहादुर विकले अहिले खच्चड बेचेर जीप खरिद गर्नुभएको छ । पहिला पहिला खच्चड खेद्दै भीरको बुट्यानमा झुण्डिएर आवतजावत गरेको बाटोमा अहिले गाडी गुडाउन पाउदा विकलाई बेग्लै आनन्दको महसुस भएको बताउनुहुन्छ ।
“यही रूट भएर सडक निर्माण भएपछि दर्जनौं खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएर अहिले गाडी चलाउन थालेका छौं”, विकले भन्नुभयो, “दरबाङदेखि मुनासम्म र त्यसभन्दा अघि गुर्जासम्मको रुटमा सात वर्ष अघिसम्म खच्चडबाट सामान ढुवानी गर्दा र अहिले गाडी चलाउँदा धेरै फरक भएको छ ।”
सडक निर्माण भएर यातायातका साधन चल्न थालेपछि दैनिक उपभोग्य बस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको मालिका ६ देवीस्थानकी इन्द्रमति फगामीले बताउनुभयो । “पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाइ मर्नुपथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे”, फगामीले भन्नुभयो “अहिले कमसेकम त्यो काहाली लाग्दो अवस्था हटेको छ ।”
सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको मालिकाका श्यामबहादुर शेरपुजाले बताउनुभयो । यहाँ आउने आन्तरिक पर्यटकलाईसमेत आवतजावतमा सहज भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij