Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टोखामा हालसम्म ७९२ जनामा कोरोना संक्रमण, सन्तुलित भोजनका लागि ४२ लाख खर्च

टोखामा हालसम्म ७९२ जनामा कोरोना संक्रमण, सन्तुलित भोजनका लागि ४२ लाख खर्च

  • काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना संक्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो ।

    images
    images
    images

    कोरोना संक्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

    नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले जानकारी दिए ।

    टोखाले हालसम्म कोरोना पोजेटिभ देखिएर होमआइसोलेसनमा बस्ने ६०९ व्यक्तिलाई चार हजार ९०० का दरले २९ लाख ८४ हजार १०० उपलब्ध गराएको छ । यस्तै एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्ने १७५ परिवारलाई सात हजारका दरले रु १२ लाख २५ हजार उपलब्ध गराएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपाल र काठमाडौं उपत्यकामा प्रवेश गरेसँगै यसको असर टोखा नगरपालिकामा पनि सबैभन्दा धेरै देखियो । टोखा नगरपालिकामा काठमाडौँको महानगरपालिकापछि धेरै संक्रमित भेटिएका थिए ।

    नगरपालिकाले हालसम्म पाँच हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५०२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको टोखा स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए । कोरोना संक्रमणका कारण हालसम्म टोखामा नौ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै आजको मितिसम्म आइपुग्दा ९८ सक्रिय संक्रमित छन् ।

    नगरपालिकाले होमआइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितलाई भत्ताका साथसाथै कोरोनाको उपचारका लागि टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रूपमा स्थापना गरेर कोरोना सङ्क्रमितको उपचारसमेत गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए।

    टोखाकै नगर कार्यपालिकाको बैठकले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालका लागि बढोत्तरी गर्ने निर्णयानुसार अस्पताललाई प्रदेश अस्पताल बनाउन मन्त्रिपरिषद्ले समेत स्वीकृत दिइसकेको छ । टोखाले कोभिड–१९ सँग सम्बन्धित अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई भत्तासमेत उपलब्ध गराएको छ । टोखाले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवकको मनोवल उच्च राख्न ४४८ जनाको कोरोना बीमासमेत गरिदिएको छ । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् । टोखाले सबै जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकलाई रु एक लाख बराबरको कोरोना बीमा गरेको हो ।

    नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि झण्डै रु पाँच करोड रकम खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहत, कन्ट्याक्ट ट्रेसिङ, स्वयंसेवक, खाना तथा खाजा, अनुगमन, प्राविधिक र सुरक्षाकर्मी सरसफाइ, सूचना सन्देश प्रसारण, आइसोलेसन सामग्री खरिद, आइसोलेसन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि उक्त रकम खर्च गरेको हो । यस्तै, ह्याण्ड वास स्टेशन निर्माण, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मलगन खरिद, सर्जिकल सामान खरिदका लागि समेत रकम खर्च गरेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij