
Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । उनले भने, “पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।”
अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ । नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण शुरु हुन्छ । उनले भने, “परीक्षण सबै गरिसक्न दुईतीन महिना लाग्छ ।”
काठमाडौं उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ । त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ । काठमाडौंमा पानी आयो भन्नासाथ पूरै पानी एकैपटक नआउने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । मेलम्चीबाट पहिलो चरणमा आउने भनिएको दैनिक १७ करोड लिटर प्रणालीमा जान अझै केही समय लाग्ने उनले बताए ।
आयोजनाले सुरुङ र प्रशोधन केन्द्रको परीक्षण सकेर त्यताबाट पानी पोखरीमा पठाएपछि वितरण तत्काल शुरु गरिने उनले बताए । जति पानी पोखरीमा आउँछ त्यति नै धारामा पानी पठाइनेछ । उनले भने, “दैनिक पानी पठाइनेछ, पानी थपिँदै जाँदा घरघरमा जाने पानीको परिमाण पनि बढ्नेछ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij