
Aug 02 2025 | २०८२, साउन १७ गते
नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।
दैलेख । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँचजनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये हिजो सोमवार दुईको शव भेटिएको जानकारी दिए । हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
उनले भने, “शव फेला परेकाको सनाखत भइसकेको छ । नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन ।” गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उनले बताए । मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमवार नै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij