Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशको रोड-शो समापन गरी बुधबार साँझ राजधानी फर्किएका छन् । मंगलबार सडक मार्ग हुँदै सप्तरीबाट मधेश प्रवेश यात्रा सुरू गरेका शाह सिमरा विमानस्थलबाट साँझ ५ बजेको बुद्ध एयरको उडानमार्फत काठमाडौं फर्किएका हुन् ।
बालेनको यो भ्रमण औपचारिक कार्यक्रम भन्दा पनि 'रोड-शो' र जनभेटघाटमा केन्द्रित थियो। सप्तरी, धनुषा र सर्लाही हुँदै बारा पुगेका शाहलाई हेर्न र उनीसँग तस्बिर खिचाउन राजमार्गका विभिन्न चोकहरूमा समर्थकहरूको बाक्लो उपस्थिति थियो। विशेषगरी युवाहरूले उनलाई 'परिवर्तनको संवाहक' भन्दै स्वागत गरेका थिए।
बाराको निजगढ र कलैयामा आयोजित अनौपचारिक छलफलपछि उनी वीरगन्ज पुगेका थिए। वीरगन्जमा छोटो समय बिताएर उनी गण्डक, परवानीपुर र जीतपुर हुँदै सिमरा विमानस्थलतर्फ लागेका थिए। जीतपुरमा समर्थकहरूले उनलाई घेरेपछि उनले गाडीको छतबाटै हात हल्लाएर अभिवादन स्वीकार गरेका थिए, जसले चुनावी माहोलको झल्को दिएको थियो।
सिमरा विमानस्थल पुग्नुअघि स्थानीय व्यक्तिहरूले उनी जीतपुर हुँदै ठोरी जाने चर्चा गरेका थिए। तर, उनको सचिवालयले सुरक्षा र समय व्यवस्थापनका कारण अन्तिम समयमा कार्यतालिका परिवर्तन गरेको बुझिएको छ। बालेनसँगै उनका सहयोगी कुमार बेन सहितको टोली साथै छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij