Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् ।
इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै गएको उल्लेख गरे ।
“अब प्रहरी कारबाहीमुखी मात्र नभई सेवा र सहयोगमुखी संस्थाका रूपमा अघि बढिरहेको छ । पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले भने ।
बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रमअन्तर्गत युनोप्सद्वारा निर्माण गरिएको उक्त भवन महिलासहित बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको हो ।
सेवाग्राहीले प्राप्त गर्ने सेवाबारे स्पष्ट पार्दै उनले भने, “यस केन्द्रमार्फत सेवाग्राहीले परामर्श, उजुरी दर्ता, अस्थायी आश्रय तथा आवश्यक कानुनी प्रक्रियासम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्, प्रहरीले पीडितको गोपनीयता, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सेवा दिनेछ ।”
करिब २८७.२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त भवनको निर्माण लागत दुई करोड १४ लाख ७३ हजार १०७.६१ रहेको छ । भवन निर्माणसम्बन्धी सम्झौता २०८१ साउन १० गते सम्पन्न भएको हो भने निर्माण कार्य रोयल कन्स्ट्रक्सन, धनगढी (कैलाली)ले सम्पन्न गरेको हो ।
भवनको भुइँ तल्लामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालबालिका कक्ष, बैठक कक्ष र प्रशासन अभियोजन कक्ष रहेका छन् । पहिलो तल्लामा प्रमुख आवास, भान्सा तथा भोजन कक्ष, दुईवटा प्रहरी ब्यारेक र दुईवटा शौचालयको व्यवस्था गरिएको छ ।
नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै कोहलपुर क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायिक पहुँच र सेवा प्रवाहमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij