Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहलाई ‘स्टार्टअप’ अनुदान

कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहलाई ‘स्टार्टअप’ अनुदान

  • काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहका लागि स्टार्टअप विजनेस अनुदान सम्झौता गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी अनुदान प्रदान गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि, पशु चिकित्सा तथा मस्त्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको हो ।

    AGNI GROUP

    विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा.ज्ञानबहादुर थापा, कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलिया, रजिष्ट्रार प्रा.डा.पुष्करबहादुर पाल लगायत तीन वटा संकायका डीनहरुको उपस्थितीमा विद्यार्थी समूहलाई बीउ पूँजी रकम प्रदान गरिएको विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले जानकारी दिए ।

    विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा.ज्ञानबहादुर थापाले विश्वविद्यालयहरू रोजगारी खोज्ने मात्रै जनशक्ति उत्पादन गर्ने गरेको आरोप लागिरहेको सन्दर्भमा कृषि विश्वविद्यालयले अरूलाई रोजगारी प्रदान गर्न सक्ने दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गरेकोमा खुसी ब्यक्त गरे ।

    विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन् । विद्यार्थीले आफ्नो समूहका साझा सोच र धारणासहित पेश गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको उनको भनाइ छ ।

    विद्यार्थीलाई उद्यमशीलता र स्वरोजगारतर्फ जोड्नका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने भन्दैं उपकुलपति प्रा.डा.थपलियाले भनिन्, ‘विद्यार्थी पढ्ने, जागिर खाने वा विदेश जाने मात्रै नहुन, देश भित्र नै रोजगारीका अवसरहरु सिर्जना गर्न सकुन् भन्ने हाम्रो मूल उद्देश्य हो ।’

    विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पुष्कर पालले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यवसायी र उद्यमशील बनाउने उद्देश्य अनुरुप बुट क्याम्प मार्फत छानिएका विद्यार्थी समूहलाई स्टार्टअप प्रदान गरिएको बताए ।

    उद्यमी समूहहरूले मोरिङ्गा पाउडर उत्पादन, पूर्वको धुले अचार, सजावटी बिरूवाहरुको टिस्यू कल्चर, एग्री अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोष्ट, जिरो वेष्ट फिस प्रोडक्ट उत्पादनका लागि पेश गरेका विस्तृत व्यावसायिक योजना विज्ञहरूको समूहले स्वीकृत गरेपछि सो रकम प्रदान गरिएको हो ।

    निर्देशनालयका उप–निर्देशक डा.उज्वल तिवारीले विद्यार्थी समूहलाई सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराउने पछि व्यवसायको प्रगति हेरेर थप बीउ पूँजी उपलब्ध गराइने बताए ।

    विद्यार्थीहरूले पेश गरेका व्यवसायिक प्रस्ताव मध्येबाट प्रारम्भिक छनौटमा परेका १२ वटा समूहलाई उद्यमशील बनाउन ‘विजनेश इन्क्युबेसन सेन्टर’ मार्फत ४ दिने बुट क्याम्प तालिम सञ्चालन गरिएको थियो । ‘छानिएका १२ समूहलाई बुट क्याम्पमा राखी विज्ञहरुद्वारा विस्तृत व्यवसायिक परियोजना बनाउने तरिका सिकाइ ती मध्येबाट उत्कृष्ट व्यवसायिक परियोजना पेश गर्ने ६ वटा समूहलाई बीउ पूँजी प्रदान गरिएको हो’ प्रा.डा.भट्टराईले भने, ‘बीउ पूँजी पाएका समूहले व्यवसायिक योजना अनुरुपको उत्पादन प्रकृयामा सामेल हुन्छन्, उनीहरुलाई आवश्यकता अनुसार थप मेन्टरसिप पनि विज्ञबाट प्रदान हुन्छ ।’

    उनले विश्वविद्यालय परिसरमा विजनेसन इन्क्युबेसन सेन्टरका लागि छुट्टै भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले सोको तयारी गरिरहेको बताए ।

    यसअघि, पनि निर्देशनालयले बुट क्याम्पहरु सञ्चालन गर्दै ७ वटा समूहलाई बीउ पूँजी रकम उपलब्ध गराएर उद्यमी र आत्मनिर्भर बनाउन सहयोग गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट