Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ । उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण गरिनेछ । यस ऋणपत्रको सावाँ रकम २०८३ पुस ३० गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्वीकृत बोल रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गरिनेछ । तर, उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने सो रकम गणना गर्न सकिने जनाइएको छ ।
ऋणपत्रको परिपक्व मितिभन्दा अघि लगानीकर्ताले यसबापतको रकम फिर्ता पाउने व्यवस्था छैन । राष्ट्र बैंकले पुस १४ गतेदेखि आजसम्म गरी कुल नौ पटक ऋणपत्र निष्कासन गरिसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij