Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाल मानव अधिकार संगठनले सार्वजनिक बहसका नाममा आम नागरिकमा भ्रम सिर्जना भएको विषयप्रति गम्भीर ध्यान आकर्षित भएको जानकारी गराएको छ।
संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै संगठनले बहसका नाममा न्यायधीश तथा न्यायिक संस्थालाई लक्षित गरी पूर्वाग्रह र उद्देश्यमुलक पोस्ट तथा समाचारहरु आइरहेको र त्यसले उत्पन्न गराएको भयको वातावरण तथा आम नागरिकमा श्रृजना हुने भ्रमप्रति संगठनको गम्भीर ध्यान आकर्षित भएको जानकारी गराएको हो।
लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर त्यसको अभिव्यक्ति संवैधानिक मर्यादा र कानुनी बाटो भित्र हुनुपर्ने भन्दै सामाजिक संजालको भीडबाट न्यायधीशलाई कठघरामा उभ्याउने, डर देखाउने वा बदनाम गर्ने कार्य न्यायिक स्वतन्त्रतासँग मेल नखाने पनि संगठनको भनाई छ।
न्यायपालिकाको गरिमा कमजोर पारिदिँदा अन्ततः यसको मूल्य सामान्य नागरिकले न्याय नपाएर तिर्नुपर्ने भन्दै यसको स्वतन्त्रता, गरिमा र विश्वासनियता माथि प्रश्न उठ्नु विधिको शासन र लोकतान्त्रिक व्यवस्था माथिको प्रत्यक्ष आघात हुनुका साथै शक्ति सन्तुलनको सिद्धान्त राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता र जिम्मेवारीमाथिको प्रहार र मानव अधिकार संरक्षणमा पर्न जाने अपुरणीय क्षति भएको संगठनको ठम्याइ छ।
न्यायपालिका र न्यायाधीशहरू उपर भइरहेको यस प्रकारको आक्रमण स्वच्छ आलोचना नभई निस्पक्ष न्याय प्रदान गर्ने कार्यमा बाधा उत्पन्न गराउन गलत कार्यहरु भएको हुँदा यस्तो कार्यहरू जोसुकैबाट र जुनसुकै उद्देश्यले गरेको भएपनि तत्काल रोक्न लगाउन र सम्पूर्ण दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकार, नेपाल बार एसोसिएशन, न्यायपरिषद, नेपाल बार काउन्सिल तथा अदालत प्रशासन लगायत सम्पूर्ण सरोकारवालाहरूमा यो संगठन अपिल पनि गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij