Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका छन् ।
त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेकी छन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।
शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् । उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिएकी थिइन् ।
उनले भनिन्- 'हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ । मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ । यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ। देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ। अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ।’
मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij