
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो ।
राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिनुभयो । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।
बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानविनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरुपमा सवारी तथा उद्योग व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । नागरिकको संविधान प्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो । गृहमन्त्रालयले शान्तिसुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानूनी कारवाही गरिने जनाइएको छ ।
जनकपुरमा २७ राउन्ड हवाइ फायर
बन्दकै क्रममा जनकपुरमा भने २७ राउन्डसम्म गोली चलेको छ। बन्दको विरोध गर्दै जनकपुरका व्यवसायीहरुले पसल खालेका थिए। त्यसपछि बन्दकर्ता र व्यवसायीबीच झडपको स्थिति बनेको थियो।
सो क्रममा स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाई फायर गर्नु परेको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहले बताए। त्यसभन्दाअघि प्रहरीले १२ राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो।
स्थायी कमिटी सदस्य यादव र प्रहरी पनि घाइते
जनकपुरमै भएको झडपमा नेकपा स्थायी कमिटी सदस्य मातृका यादव केन्द्रीय कमिटी सदस्य रामचन्द्र झासहित प्रहरीसमेत घाइते भएका छन्।
दुई प्रहरी र एक सशस्त्र प्रहरी घाइते भएको प्रवक्ता कुँवरको भनाइ छ। अन्यत्र भने सामान्य झडप भएपनि घाइते भने भएका छैनन्।
कहाँ-कहाँ प्रभाव ?
पोखरामा बन्दको सामान्य प्रभाव देखिएको छ। बन्दकर्ताले गुडिरहेको कारलाई तोडफोड गर्न लागेपछि पोखराको महेन्द्रपुलमा प्रहरी र बन्दकर्ताबीच विवाद भएको थियो। बन्दको प्रभाव पोखरामा आंशिक परेको थियो।
पोखराका सडकमा छिटपुट रुपमा मोटरसाइकल चलेका थिए। सार्वजनिक सवारी साधन न्यून मात्रामा संचालन भए। यस्तै, प्रहरीले आमहड्तालमा उत्रिएका ५ जनालाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको थियो। मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित महानगर संघर्ष समितिका सहसंयोजक मीरा दाहाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
बन्दकर्ता शारदा मैनाली, चम्पा कार्की, मीना पोखरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विराटनगरमा सरकारी गाडी तोडफोड गरेपछि प्रहरीले पक्राउ गरिएको थियो। यसैगरी, धरानमा भने मजदूर र बन्दकर्ताहरूबीच झडप भएको थियो। धरानको भानुचोकमा बन्दकर्ता नेकपा कार्यकर्ताले टेम्पोमा तोडफोड गर्न खोजेपछि मजदूरहरू र बन्दकर्ताबीच झडप थियो।
अन्य ठाउँका तुलनामा काठमाडौं उपत्यकामा बन्दको प्रभाव बढी देखियो। उपत्यका भित्रिने मुख्य नाकाहरूमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड(नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij