Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टीको सदस्यताबाट बन्चित गराउन नमिल्ने बताएकी छन् ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने बताएकी हुन् ।  उनले संबिधानले दिएको अधिकार विपरित पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफुलाई दुख लागेको भन्दै भण्डारीले सबै एमालेका कार्यकर्तालाई नडराएर सत्यको पक्षमा लाग्न आव्हान समेत गरेकी छन् । उनले आफु पार्टीको सदस्य भएकैले पार्टीबाट राष्ट्रपतिसम्म भएको बताउदै भण्डारीले आफ्नो उद्धेश्य पार्टीमा सदस्य भन्ने, पार्टीलाई एकताबद्ध बनाउने र मुलुकलाई समृद्ध बनाउने भएको बताइन ।

    images

    २- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको काँग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशका काँग्रेसका २१ सांसदले हस्ताक्षर गरेर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । यसअघि शुक्रबार नै काँग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् । बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् । 

    ३- इरानको जेलमा रहेका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा विहिबार पाँचै नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

    ४- हिमालयन बैंकको एफपिओ साउन १३ गते मंगलबार बिहान ९ बजे बाँडफाँड गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ जारी गरेको थियो ।

    images

    ५- नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाकै सहारामा  रास्वपाका नेताहरु सांसद बनेको भन्दै कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपाका नेताहरु भिजिट भिसाकै कारण सांसद बनेको बताउदै यस बारेमा धेरै चिन्ता गर्न आग्रह गरेका हुन् । प्रमुख सचेतक घिमिरेले रास्वपाका सभापति रवि लामिछानेको नाम नलिएर भिजिट भिसामा विदेश गएर उतै घरजम गरेको, उतैको नागरिकता र पासपोर्ट लिएर नेपाल आएर पार्टी खोलेर सांसद हुदै मन्त्री र उपप्रधानमन्त्री बनेको बताएका थिए । उनले भने- 'विदेशी पासपोर्टमा नेपाल फर्किएर मन्त्री, उपप्रधानमन्त्रीहरु बनाइसकेका छौं । यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरुलाई अग्रह गर्दछु ।'  घिमिरेले भने- तपाईँहरुलाई यो ठाउँमा पुर्याउने श्रेय नै भिजिट भिसाको छ, धेरै चिन्ता किन गर्नुहुन्छ ? 

    ६- प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गरेका छन् । तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गरेका हुन् ।

    ७- नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँको ५० दरका ४२ करोड प्रति नोट छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै नोट सुरक्षित तरिकाले छपाइ गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट हुने तथा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्नुपर्ने बताइएको छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते रहेको छ ।

    ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विनिता कठायत र राप्रपाका सांसद धवलशमशेर राणाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद कठायतले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् । त्यस्तै राप्रपा महामन्त्री राणाले गत चैत्र १५ गतेको तिनकुने घटनाको प्रसंग उठाउदै आफुहरुले बोकेको विचारलाई निरुत्साहित गर्न चार वटा झुटा मुद्धा लगाइएको आरोप लगाए । उनले चैत्र १५ गतेको घटनाको संसदीय छानिबनको माग गरेका छन् ।  रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    ९- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षमा विदेश भ्रमणमा २९५ करोड भारु खर्च गरेको देखिएको छ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो । मन्त्रालयका अनुसार २०२५ मा हालसम्म पाँच देशको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ६७ करोड भन्दा बढी खर्च भएको छ । त्यस्तै २०२१ देखि २०२४ सम्ममा मोदीको विदेश भ्रमणमा २९५ करोडभन्दा बढी खर्च भएको विदेश मन्त्रालयले जनाएको छ ।

    १०- प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गरेका छन् । तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीलले निर्माण सम्पन्न भएको विग्ही नदीको पुल उद्घाटन गरेका हुन्  ।

    ११- नेकपा माओवादी केन्द्रक वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरी बेहोरी रहेको तराई-मधेशका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । श्रेष्ठले मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा यस घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्ने उल्लेख गरेका छन् ।  उनले भनेका छन्- वर्षा हुन नसकेको कारण आमरुपमा गर्मी बढेको छ भने तराई - मधेशले खडेरी व्यहोर्नु परिरहेको छ ।खेतमा रोपाईं हुन नसकिरहेको मात्र होइन ,खाने पानीमा समेत समस्या उत्पन्न भएको छ ।यस सन्दर्भमा प्रदेश सरकारले मधेशलाई सुखा क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले  मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्दछ ।तर  अहिले सम्म सरकारले त्यसतर्फ समुचित  ध्यान दिन सकेको छैन ।तत्काल राहत प्याकेज घोषणा गरियोस् ।

    १२- राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।  शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सम्मेलनमा सहभागी हुन यहि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

    १३-  शुक्रबार विहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीलाई एकीकृत गरेर अगाडी बढ्ने भन्ने समग्र विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले आजको बैठकमा रुपन्देही-३ को उपनिर्वाचन बारे छलफल भएको बताउदै जिल्ला सभापति र बालकृष्ण खाँणले क्षेत्रको वस्तुस्थिति बारे बैठकमा ब्रिफिङ गरेको बताए । आजको बैठकमा उम्मेदवार चयन र अन्य विषयमा छलफल नै नभएको उनले बताए । विवादित विधेयकको विषयमा कुनै छलफल नभएको बताउदै संबैधानिक परिषदको विषयमा राष्ट्रपतिले फिर्ता पठाएको विषयमा आफुहरुको समर्थन नै रहेको केसीले बताए ।

    १४- कोल्डप्ले कन्सर्टमा आफ्नै हाकिमसँग रोमान्स गर्दै देखिएकी क्रिस्टिन क्याबोटले पनि एस्ट्रोनोमरबाट राजीनामा दिएकी छन् । उनी टेक कम्पनि एस्ट्रोनोमरमा मानव संसाधन विभागको प्रमुख रहेकी थिइन् । उनले पदबाट राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । एन्डी बायरनले शनिबार एस्ट्रोनोमरको सीईओ पदबाट राजीनामा दिएपछि क्रिस्टिनको राजीनामा आएको हो । कोल्डप्ले कन्सर्टमा दुवैले रोमान्स गरिरहेको दृश्य केहि सेकेन्डका लागि स्क्रिनमा आएपछि उनीहरु विश्वभर भाइरल बनेका थिए । यस घटनाले कर्पोरेट कार्यालयको कार्यस्थलको आचरणमा विश्वव्यापी प्रश्न उठाएको छ ।

    १५- भारतको मणिपुरमा राष्ट्रपति शासन ६ महिनाको लागि बढाउने निर्णय गरिएको छ । यो आदेश अगस्ट १३, २०२५ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले सूचना जारी गरेको छ । सूचनामा भनिएको छ- 'यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा फेब्रुअरी १३, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई अगस्ट १३, २०२५ देखि छ महिनाको अवधिको लागि निरन्तरता दिन स्वीकृत गर्दछ ।' एन बिरेन सिंहले फेब्रुअरी १३ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो । मे २०२३ देखि राज्यमा चलिरहेको जातीय द्वन्द्व अहिले पनि जारी रहेको छ ।

    १६- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३३५ मा कारोबार भएको थियो । 

    १७- अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ । अमेरिकाले म्याक्रोनको निर्णयले 'हमासको प्रचारलाई मात्र बढावा दिन्छ' भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- 'संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई अमेरिकाले कडा रूपमा अस्वीकार गर्दछ ।' उनले अगाडी भनेका छन्- 'यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ र अशान्ति बढाउनेछ । यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको अनुहारमा थप्पड जस्तै हो ।' राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका थिए । राष्ट्रपति म्याक्रोनले यसको औपचारिक घोषणा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने बताएका छन् । प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै आतंकवादलाई पुरस्कृत गर्नु बराबर भएको टिप्पणी गरेका छन् ।

    १८- समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरिएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै भदौ मसान्तसम्म ऋण चुक्ता गर्न सयम दिदै अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ ।  बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनिएको छ ।

    १९- बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । यो पर्व नेपाल संवतको गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

    २०- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संघीय संसद्‍मा फिर्ता पठाएका छन् । राष्ट्रपतिले विधेयकमाथि पुनर्विचार गर्नका लागि फिर्ता पठाएका हुन् ।  राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाएका हुन् । विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपति समक्ष पठाएका थिए । यस विधेयकमा परिषद्का ६ सदस्यमध्ये २ जनाले मात्रै पनि नियुक्ति सिफारिस गर्न सक्ने नयाँ प्रावधान गरेको छ । राष्ट्रपतिले व्यवस्था संविधानको शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको भन्दै संसद्मा फिर्ता पठाएको बुझिएको छ । संसद्ले दोस्रो पटक पारित गरेर पठाएपछि भने राष्ट्रपतिले पन्ध्र दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij