
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीहरूलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रवेशमा रोक लगाएको छ ।
सर्वोच्च अदालतले त्रिविमा लगाइएको ताला तत्काल खोल्न आदेश दिएपछि शुक्रबार बिहान आंशिक प्राध्यापकहरू स्वयंले ताला खोलेका थिए । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी वृत्त कीर्तिपुरलाई हस्तक्षेप गर्न अन्तरिम आदेश दिएको थियो ।
सो आदेशअनुसार त्रिविमा तालाबन्दी गरिएको स्थान खोलिए पनि अखिल क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति लगायत पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको हो ।
त्रिविका कार्यवाहक अध्यक्षसमेत रहेका अखिल क्रान्तिकारीका शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै माग पूरा नहुँदासम्म पदाधिकारी प्रवेश निषेध गरिएको स्पष्ट पारेका छन् ।
यसअघि नेविसंघ निकट विद्यार्थी तथा आंशिक प्राध्यापकहरूले पनि त्रिविमा तालाबन्दी गरेका थिए । हाल ती पक्षले सर्वोच्चको आदेश अनुसार ताला खोलेका भए पनि आन्दोलन जारी नै राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij