
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । पोखरामा विद्यार्थी सवार बसमाथि ढुंगा प्रहार भएको छ । उक्त प्रहारबाट ५ जना विद्यार्थी घाइते भएका छन् ।
ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका विद्यार्थी बोकेर गएको बा १ प ९११६ नम्बरको बसमाथि ढुंगा प्रहार भएको हो ।
पोखराबाट काठमाडौंबाट फर्किंदै गर्दा आइतबार राति साढे ११ बजे पोखरा महानगरपालिका-१४ चाउथे बिजयपुलमा बसमाथि ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार उक्त बसमा ३३ जना विद्यार्थी सवार थिए । बस रोकिरहेको ठाउँमा ५/६ जना व्यक्तिले ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको अन्नपूर्ण अस्पताल पोखरा उपचार गरेर उपत्यका पठाइसकेको उनले जानकारी दिए ।
'सवारी साधन बन्द भएकाले मदिरा सेवन गरेर ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ,' डिएसपी बस्नेतले भने, 'ढुंगा प्रहार गर्ने ३ जनालाई पक्राउ गरेका छौं ।'
चितवन घर भएका चालक ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका सहचाल ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा पक्राउ परेका हुन् ।
उनीहरूलाई अपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij