Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरितका क्रियाकलाप गर्ने काठमाडौँको एउटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई राष्ट्रिय परीक्षा बोर्डले निस्कासन गरेको छ ।
सुकेधारामा रहेको साइपाल एकेडेमी माविका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गरेर सो केन्द्रमा नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको बोर्डले जनाएको छ । बोर्डले यही वैशाख २१ गतेदेखि देशभरि कक्षा १२ परीक्षा सञ्चालन गरिरहेको छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी छन् ।
बोर्डले परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाइसहरु लैजान पूर्णरुपमा निषेध गरेको छ । तर, केही परीक्षा केन्द्रहरुमा मोबाइल प्रयोग भएको पाइएको भन्दै बोर्डले त्यस्ता मोबाइल जफत गरिएको र सम्बन्धित परीक्षार्थीको परीक्षासमेत रद्द गरिएको जनाएको छ ।
‘परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाइसहरु लैजान पूर्णरुपमा निषेध गरिएको छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने व्यहोरासमेत सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाहरुमा पुनः अनुरोध छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij