
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४% आयात शुल्क लाग्नेछ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको छ । ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिका विरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।’
आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाए । यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, चीनमा थप ३४ प्रतिशत कर लगाइयो । अब ५० प्रतिशत भन्सार महसुल लगाएपछि कुल आयात महसुल १०४ प्रतिशत पुगेको छ।
ट्रम्पले सोमबार नै भनेका थिए – यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता लिएन भने, उनले चीनमाथि थप ५० प्रतिशत कर लगाउनेछन् ।
ट्रम्पको भनाइको जवाफमा, चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij