
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ ।
यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा । कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृत गुरुङले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए । उनले थप्दै लगे, ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो ।
अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन शुरू गरे । भूइँ थर्किन थाल्यो । मेलबर्नमा नेपथ्यले यसअघि दुई हजार दर्शक क्षमताको हल ‘फोरम’ प्रयोग गरेको थियो । यसपाला भने त्योभन्दा बढी क्षमताको भव्य एवं ऐतिहासिक ‘फेस्टिभल हल’ चयन गरिएको थियो । कन्सर्ट शुरू हुनुभन्दा झन्डै आधा घण्टाअगावै हल भरिभराउ भइसकेको थियो ।
घडीको सुईले बेलुकीको ठीक साढे ८ देखाउनासाथ पर्दामा ‘सा कर्णाली’ गीतको म्युजिक भिडियो बज्न शुरू भयो । विश्वमै तहल्का मच्चाइरहेको बेला ‘बिटल्स’जस्तो ब्यान्डको कन्सर्ट अनि सन् १९५६ को ओलम्पिकमा कुस्ती प्रतियोगिता भएको यस हलमा दर्शकको भीडले सोमबार साँझ नृत्य गर्दा शुरूआतैदेखि भूइँ बेस्सरी थर्किन थालेको थियो ।
म्युजिक भिडियो लगत्तै मञ्चमा उपस्थित मुख्य गायक अमृतले ‘कोशीको पानी, यो जिन्दगानी’बाट प्रस्तुति थालनी गरे । तेस्रो प्रस्तुति ‘छेक्यो छेक्यो’ पछि उनले दर्शकसँग संवाद सुरु गरे । त्यसक्रममा उनले नेपाली जता गए पनि मिलेर बस्नुपर्ने, देश र आफन्तलाई भेट्ने क्रम टुटाउन नहुने अनि भावी पुस्तामा पनि भाषाको विस्तार गर्नुपर्नेजस्ता सन्देश प्रवाह गरे । कन्सर्टको अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’सम्म पुग्दा तिरिमिरी बत्तीका बीच सिंगै हल नाचिरहेको जस्तो देखिन्थ्यो । नेपथ्यलाई मेलबर्नमा भव्य रूपले प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजक आशिफ कार्कीले उल्लेख गरे ।
‘नेपाली कार्यक्रमका लागि मेलबर्नको कुनै हलभित्र तीन हजार दर्शक जम्मा भएको यो पहिलो पटक हो’, उनले थपे, ‘दर्शक कार्यक्रममा अन्तिमसम्मै रमाएको देख्दा खुसी झनै बढेको छ ।’ मेलबर्नपछि अब ब्यान्ड, व्यवस्थापक लगायतको १४ सदस्यीय टोली अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको शहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij