
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन् ।
सोमबार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएकाहरूले भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए ।
असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी र प्रणालीविरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ । हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन् । हामी यसको दृष्टान्त दिन सक्छौँ । हामी आफैँले गरेका छौँ । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो? हामी आफ्नै कुरामा छौँ । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी, प्रणालीविरोधी कुरामा हामी लाग्नुहुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौँ । यो बीभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलाप यस्तै हुन्छन् ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij