
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतमाथि गरिएको छानबिनको प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।
मेयर बालेन शाह र संघीय सरकारबीचको तनाब चुलिँदै गएको अवस्थामा मन्त्री राजकुमार गुप्ताले छानबिनको स्पष्ट प्रतिवेदन माग गर्दै पत्राचार गरेका हुन् । मेयर शाहले एकातिर प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् भने अर्कोतर्फ प्रधानमन्त्रीप्रति सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गर्दै प्रशासकीय अधिकृत नपठाएको विषय उठाएका छन् ।
मन्त्री गुप्ताले मेयर शाहको यो दोहोरो भूमिकामाथि प्रश्न उठाउँदै छानबिन निष्कर्षमा नपुगेसम्म कुनै निर्णय नलिने बताएका छन् । पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको भ्यू टावरुको नक्सा स्वीकृतिसम्बन्धी अनुसन्धानमा प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि प्रश्न उठेपछि उनी बिदामा रहेका छन् । तर, उनको बिदा स्वेच्छिक नभएर मेयरको निर्देशनअनुसार भएको बताइन्छ ।
महानगरका उपमेयर सुनिता डंगोलले पनि मेयर शाहको कार्यशैलीप्रति असहमति जनाउँदै छानबिनको निष्कर्ष सार्वजनिक गर्न माग गरेकी छन् । मेयर शाहले आफैं प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन समिति गठन गर्नु र आफैं प्रधानमन्त्रीलाई आरोपित गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।
यसबीच, प्रशासकीय अधिकृतको अभावमा महानगरपालिकाका कर्मचारी तथा शिक्षकहरूको मंसिर महिनादेखिको तलब रोकिएको छ । मन्त्री गुप्ताले महानगरमा नयाँ प्रशासकीय अधिकृत पठाउन सहसचिवहरू इच्छुक नभएको उल्लेख गर्दै छानबिन प्रतिवेदन प्राप्त भएपछि मात्र अर्को निर्णय लिइने स्पष्ट पारेका छन् । मन्त्रालयले गत बिहीबार महानगरलाई पत्राचार गर्दै प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij