
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो ।
परियोजनाले सूचना जारी गरी सामग्रीहरु खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो । निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो । परियोजनाले रु ५० लाख बराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न रु एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ, उनले भने।
जलजङ्गलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका सङ्घ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । उहाँका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो । उनले भने, चैत महिना कटेपछि गणना गर्न सकिंदैन ।
कम्तीमा १० दिन पूर्वतयारी गर्नुपर्छ । अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij