
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने संभावित कार्यसूची छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
संसद सचिवालयका अनुसार वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रयल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
तर, यसअघि सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यूचीमा समावेश गरिएको छैन। सत्तारुढ दलबीच विवाद बढेपछि सरकारले ल्याएका अध्यादेश पारित हुन सकेको छैन ।
अध्यादेश पारित हुन प्रतिनिधिसभामा मात्रै नेपाली कांग्रेस र एमालेको बहुमत पुग्छ। तर, राष्ट्रियसभामा भने बहुमत पुग्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ ।
सरकारले गत पुस २६ गते सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij