
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् ।
दलालको प्रलोभनमा परी युक्रेन पुगेका उनीहरूलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा उद्धार गरिएको हो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको हो ।
अध्यक्ष केसीका अनुसार उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुग्नेछन् ।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए । उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए ।
उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डा. केसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij