
Apr 23 2025 | २०८२, वैशाख १० गते
चरिकोट : तामाकोशी पाँचौं जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
निर्माणाधीन ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजनासमक्ष स्थानीयले ११ बुँदे माग राखेका थिए । ती माग पूरा गर्न गरिएको ध्यानाकर्षण बेवास्ता गरेको भन्दै स्थानीयले आयोजनाको अडिट टुका सबै काम ठप्प पारेका छन् । अडिट टु निर्माण गर्दा विगु गाउँपालिका २ मौरेका १० घरपरिवार जोखिममा रहेका कारण उनीहरूको व्यवस्थापन आयोजनाले गर्नुपर्ने स्थानीयको माग छ ।
मौरेका स्थानीय समेत रहेका संघर्ष समितिका सहसंयोजक अमृतकुमार आचार्यले आयोजनाको अडिट टुबाट आफ्नो बस्ती जोखिममा रहेपनि बेवास्ता गरिएका कारण आन्दोलनमा उत्रिनुपरेको बताए । बस्ती ५० मिटरभित्रै पर्दा पनि आयोजनाले माग सम्बोधनमा बेवास्ता गरेकोले आन्दोलनमा उत्रिनु पारेको संघर्ष समितिले जनाएको छ ।
समितिले टनेलबाट गौरीशंकर गाउँपालिका ८, खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी झन्डै सय घरपरिवार समेत आंशिक जोखिममा पर्ने भन्दै तत्काल समाधानको उचित विकल्प दिन माग गरेको छ । माग पूरा नभई काम अघि बढ्न नदिने संघर्ष समितिको चेतावनी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij