
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ : काठमाडौँको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रम लामालाई आक्रमण गरेको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीको संलग्नता देखिएको छ ।
कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय लामामाथि आक्रमण भयो । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामालाई आक्रमण गर्ने समूहसँग ‘कनेक्सन’ देखिएपछि भण्डारीलाई पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । सिन्धुली घर भएका भण्डारी काठमाडौँको फुटुङस्थित थापा चोकबाट शनिवार साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौँका एसएसपी रजौरे भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट घटनामा भण्डारीको कनेक्सन देखिन्छ, थप अनुसन्धान गर्दैछौँ ।’ सो घटनामा संलग्न आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । ४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका २ जना फरार छन् ।
आक्रमणमा संलग्न अजय लामा, र दीपक बरामु फरार छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ । अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेका थिए । विक्रम लामाले गर्दा यसअघि आफू जेल परेको भन्दै उनले आफ्नो समूहमा ‘बद्ला लिनुपर्ने’ कुरा बताउँदै आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij